३१ बैशाख २०८२ , बुधबार

सूचना प्रविधिका लागि पूर्वाधार अभाव : मन्त्री गुरुङ

News
१९ बैशाख, काठमाण्डौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिका लागि आवश्यक पूर्वाधारको अभावका कारण यो व्यवसाय फस्टाउन नसकेको बताएका छन्।

मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सूचना सञ्चार प्रविधि दिवस–२०८२ (नेशनल आइसिटी डे)’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सूचना प्रविधि मुलुकको सुशासन प्रवर्द्धन, समृद्धि र विकासको मूल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए।

सूचना प्रविधिलाई चुस्त बनाउन मन्त्रालयले समय सापेक्ष कानुन, पूर्वाधार निर्माण र दक्षजनशक्ति वृद्धिमा जोड दिएको जानकारी दिँदै उनले आइटी पार्कको आवश्यकता औंल्याए। "जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ, त्यसैगरी आइटी विकास गर्न पूर्वाधार अनिवार्य निर्माण गर्नुपर्छ," उनले भने, "कम्तीमा आइटी पार्क नभइ नहुने देखिन्छ। हामी बनाउने योजनामा छौँ।"

मन्त्री गुरुङले विगतका कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई स्थानीय तह, प्रदेश र सङ्घीय सरकारी कार्यालयमा पूर्णरुपमा लागू गर्ने, दूरसञ्चारलाई समयानुकूल बनाउन ऐन ल्याउने, फोरजी सेवा देशभर पु¥याउने र फाइभजी नेटवर्कलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थित गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीति ल्याउने, जिआइडिसीको सबलीकरण र आधुनिकीकरण गरी थप डेटा सेन्टर स्थापना गर्नेलगायत गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी दिए।

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटी क्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भए पनि डिजिटल साक्षरता वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले आइटी क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जना गर्न सुझाव दिए।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजिटल फ्रेमवर्क बनाउने नेपाल सरकारको उद्देश्यलाई सफल पार्न मन्त्रालयले डिजिटल सेवा प्रभावमा जोड दिएको बताए। ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थित गर्न सकिएको उदाहरण प्रस्तुत गरे।

विभिन्न व्यक्तित्व ‘नेशनल आइसिटी अवार्ड’बाट पुरस्कृत

सोही कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई ‘नेशनल आइसिटी अवार्ड’बाट पुरस्कृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गरेका थिए। प्रा डा शशीधर राम जोशी ‘नेशनल आइसिटी एक्सीलेन्स अवार्ड’बाट पुरस्कृत भए भने जल तथा मौसम विज्ञान विभागलाई ‘नेश्नल आइसिटी अवार्ड’ (पब्लिक सेक्टर) विधाबाट पुरस्कृत गरियो।

त्यसैगरी, डिजिटल बैंकिङमा योगदान पु¥याएबापत बन्दना शर्मा ‘नेश्नल आइसिटी एक्सीलेन्स अवार्ड’ (महिला) विधामा पुरस्कृत भइन्। इकागजपत्रलाई नेशनल आइसिटी इनोभेसन अवार्ड प्रदान गरियो। अन्य विभिन्न व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको थियो। प्रत्येक पुरस्कारको राशि जनही रु एक लाख रहेको छ।