गाजा क्षेत्रमा दिनप्रतिदिन गम्भीर बन्दै गएको मानवीय सङ्कटप्रति अन्तर्राष्ट्रिय समुदायबाट बढ्दो चिन्ता व्यक्त भइरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन्। सो निर्णयअनुसार अत्यावश्यक राहत सामग्री सीमित मात्रामा गाजामा प्रवेश गरिनेछ।
प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित सूचनामा गाजाका बासिन्दालाई भोकमरीको सम्भावित सङ्कटबाट जोगाउन केही आधारभूत खाद्य सामग्री पठाउने निर्णय गरिएको जनाइएको छ। राहत कहिलेदेखि प्रवेश गरिने र कुन माध्यमबाट पठाइने भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन। तर, सरकारी सञ्चार माध्यम ‘कान’का अनुसार राहत सामग्री तुरुन्तै पठाउन थालिने र वितरण हाल गाजामा कार्यरत अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले गर्नेछन्। इजरायली पक्षले भनेको नयाँ वितरण प्रणाली, जुन एक अमेरिकी संस्थामार्फत सञ्चालन हुने भनिएको छ, हालसम्म सुरु गरिएको छैन।
यो निर्णय सुरक्षासम्बन्धी सल्लाहपछि लिइएको र गाजामा हालसालै सुरु गरिएको सैन्य अभियानलाई सफल बनाउन आवश्यक कदमका रूपमा प्रस्तुत गरिएको छ। यदि गाजामा भोकमरी फैलियो भने सो अभियानमा बाधा पुग्न सक्ने चिन्ता व्यक्त गरिएको छ। इजरायली पक्षले सहायता वितरण हमासको नियन्त्रणमा नपरोस भन्ने हेतुले आवश्यक सतर्कता अपनाइने जनाएको छ।
प्रधानमन्त्री नेतान्याहुले आइतवार राति मन्त्री परिषद्को बैठकमा उक्त निर्णय सार्वजनिक गरेका हुन्। तर यो निर्णय प्रधानमन्त्रीको सरकारमा रहेका केही राष्ट्रवादी मन्त्रीहरूको कडा विरोधको सामना गरिरहेको छ। राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभीर र अर्थमन्त्री बेजालेल स्मोटरिचले यदि गाजामा सहायता पुनः सुरु गरियो भने सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसङ्घीय संस्थाहरूका अनुसार गाजामा गत फागुन १९ गतेदेखि लगाइएको नाकाबन्दीपछिको अवस्थाले गम्भीर रूप लिइसकेको छ। खाद्य सुरक्षासम्बन्धी संयुक्त मूल्याङ्कन अनुसार गाजाका करिब ९३ प्रतिशत मानिसहरू खाद्य अभावको गम्भीर अवस्थामा छन्, जुन सङ्कटदेखि विपद्सम्मको स्तरमा पुगेको छ।