इजरायलले गत महिना गाजामा १५ जना स्वास्थ्यकर्मीको मृत्युमा आफ्नो गल्ती स्वीकार गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) ले आफ्ना सैनिकहरूबाट 'व्यावसायिक गल्ती' भएको र सोही कारण एक अधिकारीलाई बर्खास्त गरिएको जनाएको छ।
आईडीएफका अनुसार गत मार्च २३ मा सैनिकहरूले एम्बुलेन्स, दमकल ट्रक र संयुक्त राष्ट्रसंघको गाडीमा गोली चलाएका थिए, जसमा १५ जनाको ज्यान गएको थियो। घटनापछि इजरायलले मारिएकामध्ये ६ जना हमासका सदस्य भएको दाबी गरेको थियो। तर, आन्तरिक अनुसन्धानपछि आईडीएफले गल्ती स्वीकार गरेको हो। यद्यपि, इजरायली अनुसन्धान प्रतिवेदनले सैनिकहरूले आचारसंहिता उल्लङ्घन नगरेको उल्लेख गरेको छ।
यसैबीच, शुक्रबार गाजामा इजरायली हवाई आक्रमणमा ९० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। गाजा सरकारका अनुसार पछिल्लो १८ महिनाको लडाइँमा अहिलेसम्म ६१ हजारभन्दा बढी गाजावासी मारिएका छन्। संयुक्त राष्ट्रसंघले गाजाका हजारौं मानिसहरू भोकमरीले मर्ने जोखिममा रहेको चेतावनी दिएको छ।
वेस्ट बैंकमा इजरायली सैनिकहरूले हेब्रोनस्थित फावर शरणार्थी शिविरबाट आठ प्यालेस्टिनीहरूलाई पक्राउ गरेका छन्। सैनिकहरूले घरहरूमा छापा मारेर तोडफोड गरेको समाचार एजेन्सी वाफाले जनाएको छ।