१४ बैशाख २०८२ , आईतवार

क्यानडामा बस पर्खिरहेकी भारतीय छात्राको गोली हानी हत्या

News
६ बैशाख, काठमाण्डौँ ।

क्यानडामा बस स्टपमा बस पर्खिरहेकी २१ वर्षीया भारतीय छात्राको गोली हानी हत्या भएको छ। हरसिमरत रंधवा नाम गरेकी ती छात्रा ओन्टारियोको ह्यामिल्टनस्थित मोहक कलेजमा अध्ययनरत थिइन्।

प्रहरीका अनुसार रंधवा काममा जानका लागि बस स्टपमा पर्खिरहेको बेला एक गाडीबाट अन्धाधुन्ध गोली चलाइएको थियो। उनलाई छातीमा गोली लागेको थियो। तत्कालै अस्पताल पुर्‍याइए पनि उनको ज्यान बचाउन सकिएन।

टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक छात्रा निर्दोष रहेको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार दुई गाडीमा भएका व्यक्तिहरूबीच गोली हानाहान भएको थियो। त्यही क्रममा बस स्टपमा रहेकी रंधवालाई गोली लागेको हो। घटनापछि कालो रङ्गको गाडीमा सवार व्यक्तिहरू फरार भएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र प्रमाणहरू जुटाउने प्रयास गरिरहेको छ।