प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो। बैठकले स्व. नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरेका थिए।
पूर्वमन्त्री नेपाल नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यकार थिए। उनको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो।
उनी पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट २०५० सालमा राष्ट्रियसभामा निर्वाचित भएका थिए। उनी विसं २०५६ मा काठमाडौँ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।