१४ बैशाख २०८२ , आईतवार

तराईमा अत्यधिक गर्मीको सम्भावना, सावधानी अपनाउन मौसम विभागको आग्रह

News
१० बैशाख, काठमाण्डौँ ।

जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति तातो हावाको लहरसम्बन्धी विषेश बुलेटिन जारी गर्दै मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो लहरको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ। साथै मधेस प्रदेशलगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाइएको छ।

विभागले तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नदेखिने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्तमात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।