अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा सम्बन्धी जानकारी उपलब्ध नगराएमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएको छ।
अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले हार्वर्ड विश्वविद्यालयलाई दिइने २.७ मिलियन डलर भन्दा बढीको अनुदान रोक्का गरेकी छिन्। उनले विश्वविद्यालयलाई अप्रिल ३०, २०२५ सम्ममा विदेशी विद्यार्थी भिसा धारकहरूको गैरकानूनी गतिविधिहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएकी छिन् । जानकारी उपलब्ध नगराएमा विश्वविद्यालयको विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रम (SEVP) प्रमाणीकरण तत्काल खारेज हुन सक्ने चेतावनी दिइएको छ ।
हार्वर्ड विश्वविद्यालयले सरकारको मागले विश्वविद्यालयको संवैधानिक अधिकारको उल्लङ्घन हुने बताएको छ। यसअघि अमेरिकी शिक्षा विभागले ह्वाइट हाउसको माग पूरा नगरेको भन्दै हार्वर्ड विश्वविद्यालयलाई दिइने २.३ बिलियन डलर बराबरको संघीय कोष रोक्का गरेको थियो ।