२५ बैशाख २०८२ , बिहीबार

पर्वमन्त्री प्रदीप नेपालको निधन

News
२३ बैशाख, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो। यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।

एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आउनुभएको थियो। नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो। उहाँ २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसअघि राष्ट्रियसभा सदस्य रहनुभएको थियो।

नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक हुनुभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय हुनुहुन्थ्यो। भूमिगत कालमा उहाँ सञ्जय थापाका नाममा परिचित हुनुहुन्थ्यो।

नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो। नेपालको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिएका छन्।