२६ बैशाख २०८२ , शुक्रबार

नेपाल पत्रकार महासंघका अध्यक्ष शर्मा नेजाको अधिवेशनमा भाग लिन अमेरिका पुगे

News
२६ बैशाख, काठमाण्डौँ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुुगेकी छन्।

अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुग्नुहुँदा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गरेका थिए। नेजाको निमन्त्रणामा महासङ्घका अध्यक्ष शर्मा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन्।

उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी करिब २०० प्रतिनिधिको सहभागिता रहने ‘कन्भेनर’ रोशन अधिकारीले जानकारी दिएका छन्।

नेजाका महासचिव बाबुराम दाहालका अनुसार सो अधिवेशनमा भाग लिन ८१ प्रतिनिधिले सदस्यता दर्ता गरिसकेको, नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ सार्वजनिक गरिनाका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मानसमेत प्रदान गरिने कार्यक्रम छ।

गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको नवौँ अधिवेशनलाई लस भेगसका नेपाली समुदायले निकै उत्सुुकताका साथ सहकार्य गरेको बताएका छन्।