८ बैशाख २०८२ , सोमबार

नेपालमा नयाँ चरा प्रजाति 'बैजनी कोइली' फेला, संख्या ८९९ पुग्यो

News
३ बैशाख, काठमाण्डौँ ।

नेपालको पन्छी जगतमा एक नयाँ प्रजातिको चरा थपिएको छ। इलाम जिल्लाको सुखानी वन क्षेत्रमा पहिलो पटक 'बैजनी कोइली' (Violet Cuckoo) फेला परेको हो। यसलाई आधिकारिक रूपमा अभिलेखीकरण गरिएसँगै नेपालमा पाइने चरा प्रजातिहरूको कुल संख्या ८९९ पुगेको छ।

नेपाल पन्छी अभिलेख समितिका अनुसार, चराविद् राजेन्द्र गुरुङले गत चैत १२ गते बिहान सुखानी वन क्षेत्रमा यो भाले चरा पहिलो पटक देखेका थिए। उनीसँगै रहेका अर्का चराविद् अनिस तिम्सिना र दुई जना मलेसियाली नागरिकले पनि करिब २० मिटरको दूरीबाट चराको अवलोकन गरी फोटो तथा भिडियो खिचेका थिए।

संकलित फोटो, भिडियो र अन्य विवरणहरू पुष्ट्याइँका लागि चैत २८ गते समितिमा पठाइएको थियो। प्राप्त प्रमाणहरूको अध्ययन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँगको परामर्शपछि यस चरालाई नेपालका लागि नयाँ प्रजातिको रूपमा पुष्टि गरिएको समितिका अध्यक्ष डा. तुलसी सुवेदीले बताए।

समितिले यस चराको नेपाली नाम 'बैजनी कोइली' र अंग्रेजी नाम 'Violet Cuckoo' तय गरेको छ। यो चरा नेपालबाहेक भुटान, बंगलादेश, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, थाइल्याण्ड, भियतनाम लगायतका देशहरूमा पाइने गर्दछ। विश्वभर यसका दुई उपप्रजातिहरू रहेको अभिलेख छ।