गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा गाडीले प्रहरीलाई पेल्न खोजेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान थालिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंविरुद्ध घटनास्थलमा ड्युटीमा खटिएका प्रहरीहरूले नै सामूहिक निवेदन दिएपछि ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने नियतले गाडी चलाएर पेल्दै अघि बढेको आरोप छ। सार्वजनिक भएको भिडिओमा पनि प्रसाईं आफैंले गाडी चलाउँदै प्रहरीतर्फ अगाडि बढाएको देखिन्छ।
यसअघि नै प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर (राजद्रोह) र संगठित अपराधमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। अब ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुर पनि थपिएसँगै उनीमाथि एकसाथ चारवटा कसुरमा अनुसन्धान भइरहेको छ।
तीनकुने घटनाको १५ दिनपछि भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई चैत २९ गते काठमाडौं ल्याइएको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पहिलो पटक १२ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।