१४ बैशाख २०८२ , आईतवार

युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

News
११ बैशाख, काठमाण्डौँ ।

युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमला हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेख्दै दक्षिणपूर्वी सहर मार्गानेट्समा भएको आक्रमणमा नौ जनाको ज्यान गएको जानकारी दिएका छन्। “शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो”, उनले भने, "घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ", उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए ।

युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् । किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ ।

रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ ।

तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।