नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विभिन्न आपराधिक कार्यहरू बढ्दो क्रममा रहेको भन्दै सचेत गराएको छ।
ब्यूरोले एक सूचना जारी गर्दै पछिल्लो समय एआई र सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै यसको दुरुपयोग गरी अरुको चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामग्री बनाएर फैलाउने, समाजमा भ्रम सिर्जना गर्ने तथा गलत शब्द चयन गरी अपमानजनक संगीत वा अन्य सामग्री सिर्जना गरी व्यक्तिको मानमर्दन गर्ने जस्ता गतिविधि बढेको जनाएको छ।
यस्ता कार्यहरूले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्नुका साथै नेपालको विद्यमान साइबर कानुन अनुसार फौजदारी अपराधसमेत हुने ब्यूरोले स्पष्ट पारेको छ।
साइबर ब्यूरोले प्रविधिको प्रयोग गर्दा सोचविचार पुर्याउन र अरुको सम्मानमा आँच नपुग्ने गरी सकारात्मक कार्यमा मात्र उपयोग गर्न सबैमा अनुरोध गरेको छ। प्रविधिको जिम्मेवारपूर्ण प्रयोगले मात्र सम्भावित कानुनी कारबाही र सामाजिक विचलनबाट बच्न सकिने ब्यूरोको भनाइ छ।