चीनले शुक्रबार बिहान नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बेइजिङ समय अनुसार बिहान १२:४७ मा दक्षिण-पश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च-३ बी’ रकेटको माध्यमबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो।
प्रक्षेपण केन्द्रका अनुसार उपग्रहले सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रवेश गरेको छ। यो उपग्रह मुख्य रूपमा बहु-तरंगदैध्र्यमा आधारित उच्च गतिको सञ्चार प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछ। यस परीक्षणबाट भविष्यमा सुरक्षित, छरितो र भरपर्दो सञ्चार सेवा विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
यो ‘लङ मार्च’ शृङ्खलाको ५६९औँ प्रक्षेपण हो। लङ मार्च शृङ्खला चीनको सबैभन्दा भरपर्दो र प्रविधियुक्त रकेट मानिन्छ। यसले चीनको अन्तरिक्ष अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो नयाँ उपग्रहको सफल प्रक्षेपणले चीनले अन्तरिक्ष तथा सञ्चार प्रविधिको क्षेत्रमा थप प्रगति गरेको पुष्टि हुन्छ।