बुल्दीखोलामा ६ करोडको पक्की पुल निर्माण
तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा ६ करोडभन्दा बढीको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। सम्झौता अवधिभन्दा चार महिनाअघि नै पुल निर्माण भएको हो।
कुल ६ करोड ५६ लाख ४३ हजार २७२ रुपैयाँ लागत अनुमान गरिएको पुलको ठेक्का ६ करोड १ लाख १७ हजार ३२४ रुपैयाँमा लागेको थियो। नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीका अनुसार पुल निर्माणका लागि सङ्घ सरकारबाट १ करोड ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोतबाट जुटाइएको हो।
२०८० फागुन २३ गते सम्झौता भएको पुलको काम वैशाख २२ गते नै सकिएको छ। पुलको लम्बाई २५ मिटर रहेको छ। ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको थियो। पुल बनेपछि दुई वडाका स्थानीय बासिन्दालाई आवतजावतमा सहज हुनेछ।
पुल निर्माण भएको ठाउँमा यसअघि ह्युमपाइप कल्भर्ट राखेर यातायात सञ्चालन गरिएको थियो। बर्खामा बुल्दीखोलामा बाढी आउँदा कल्भर्टले पानीको बहाव रोक्दा वरपर डुबान हुन्थ्यो।
यसैबीच, निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ। व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो। नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिले पुलको अनुगमन गरेको थियो भने पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर विजय थापाले पुलको पुन: मूल्याङ्कन गरेका थिए।