जुन १२, २०२५ मा भारतको अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही क्षणमै दुर्घटनाग्रस्त भयो। विमानमा सवार २४२ जनामध्ये एकजना मात्र जीवित छन्।
जीवित रहने भाग्यमानी व्यक्ति बेलायती-भारतीय नागरिक रमेश विश्वासकुमार हुन् । रमेश सिट नम्बर ११ए मा बसेका थिए, जुन विमानको आपतकालीन ढोका नजिकै थियो। दुर्घटनापछि ढोका भाँचिएको र सानो प्वालबाट हाम फालेर उनी बाँच्न सफल भए।

सिट नम्बर ११ए सामान्यतया बोइङ ७३७ मा मन नपराइने सिट हो, जहाँ झ्याल हुँदैन। तर, एयर इन्डियाको बोइङ ७८७ मा भने यो सिट आपतकालीन ढोका नजिकै भएकाले रमेशको जीवन बचायो। सामाजिक सञ्जालमा ११ए सिटलाई 'चमत्कारिक सिट' भन्न थालिएको छ।
अस्पतालको बेडबाट रमेशले दिएको अन्तर्वार्तामा आफू कसरी बाँचे भन्ने बारेमा जानकारी दिएका छन्। यो घटनाले सिट नम्बर ११ए लाई नकारात्मकबाट सकारात्मक चर्चामा ल्याएको छ।