पोखरामा नक्कली परीक्षार्थी पक्राउ, प्रहरी जवान बन्ने सपनामा अर्काको पहिचान !
लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज बिहान पोखरा महानगरपालिका वडा नं. ७, पार्दी स्थित लोक सेवा आयोगको परीक्षा भवनमा नेपाल प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा अर्कैको नामबाट परीक्षा दिइरहेको अवस्थामा ज्ञानुता विश्वकर्मा पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार, विज्ञापन नं. ०३/०८१-०८२ अन्तर्गत दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा धनकुटा पाख्रीबास नगरपालिका वडा नं. ५ बस्ने वर्ष १९ की ज्ञानुता विश्वकर्मा परीक्षा दिइरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
कास्की जिल्ला अदालतबाट शिक्षा ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी जवान बन्ने सपना बोकेर अर्काको पहिचानमा परीक्षा दिनु अपराध हो र यसले वास्तविक परीक्षार्थीको अवसरलाई खोस्ने कार्य गरेको छ।