फिसिङ लिङ्क पठाएर ईसेवाको रकम चोरी गरेको अभियोगमा २२ वर्षीय राहुल बुढालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बुढालाई काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो।
कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्ने बुढाले एसएमएसमार्फत विभिन्न व्यक्तिलाई फिसिङ लिङ्क पठाएर ईसेवा खाता सस्पेन्ड हुन लागेको भन्दै झुक्याएका थिए। उनले भेरिफाई गर्ने बहानामा लिङ्क खोल्न लगाई ४ हजारभन्दा बढी प्रयोगकर्ताको ईसेवा खातामा अनाधिकृत पहुँच पुर्याएर १ करोड २ लाख रुपैयाँ चोरी गरेका थिए। उक्त रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खातामा ट्रान्सफर गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बुढालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।