२१ जेष्ठ २०८२ , बुधबार

"ऊनको स्वीटर" दोस्रो हप्तामा प्रवेश, पहिलो सातामा ५ करोड ७५ लाखको ग्रस कलेक्सन

News
३ जेष्ठ, काठमाण्डौँ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ। चलचित्रले प्रदर्शनको पहिलो सातामा ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण कम्पनी आर्टमान्डुले जनाएको छ। यो सफलतासँगै चलचित्र आजबाट दोस्रो हप्तामा प्रवेश गरेको हो।

चलचित्रप्रति दर्शकको माया र उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माण टिम तथा कलाकारहरू विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारस लगायत काठमाडौँ उपत्यकाका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्। निर्देशक नवीन चौहानले दर्शक प्रतिक्रिया बुझ्न र उनीहरूको मायाप्रति धन्यवाद व्यक्त गर्न कलाकारसहित हल भ्रमणमा निस्किएको बताए। उनका अनुसार, हलमा कलाकारलाई भेट्दा दर्शक निकै खुसी देखिएका छन् र उनीहरूसँग सेल्फी तथा तस्बिर खिच्दै अर्को चलचित्रबारे जिज्ञासा राख्ने गरेका छन्।

निर्माण टिमले पहिलो हप्ता दर्शकबाट पाएको भरपुर माया र साथप्रति आभार व्यक्त गर्दै दोस्रो हप्तामा पनि उस्तै साथ मिल्ने आशा व्यक्त गरेको छ।

दोस्रो हप्ताबाट चलचित्रको टिमले देशव्यापी भ्रमण सुरु गर्ने योजना बनाएको छ। निर्देशक चौहानका अनुसार, दमौलीबाट सुरु हुने यो भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर हुँदै इटहरीसम्म पुग्नेछ।

निर्देशक चौहानकै लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको मुख्य अभिनय रहेको छ।