२३ जेष्ठ २०८२ , शुक्रबार

टिबी स्मृति यु–१६ क्रिकेट : कर्णालीको पहिलो जित

News
२१ जेष्ठ, काठमाण्डौँ ।

‘टिबी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ दोस्रो दिन पाहुना टोली सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित निकालेको छ।

सुर्खेत वीरेन्द्रनगरस्थित कालुङचोक खेल मैदानमा सोमबारदेखि सुरू भएको उक्त प्रतियोगितामा आज सुदूरपश्चिसँग भएको खेलमा कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णालीले पहिलो जित निकालेको हो। पचास ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो। कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राख्नुभयो।

चार ओभर बलिङ गर्नुभएका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल हुनुभयो। दसौँ ओभरमा बलिङ गर्न आएका उनले एक रन मात्रै खर्चिनुभयो। बाह्रौँ ओभरमा एक रन दिएर एक विकेट लिनुभएका उनले चौधौँ ओभरमा मेर्डनसहित एक विकेट लिँदा सोह्रौँ ओभरमा मेर्डनसहित तीन विकेट लिनुभयो।

सुदूरपश्चिमका ओपनरविक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन्। सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाउनुभयो। सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो। कर्णालीका कप्तान विपिनले पाँच विकेट लिँदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात पारे।

जवाफी ब्याटिङ थालेको कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाउँदा नमनसिंह थापा र भूपेन्द्रजङ्ग शाहीले नटआउट समान नौ रन बनाउनुभयो। नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्काले चार रन बनाउनुभयो भने कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाउनुभएको थियो।

कर्णालीसँगको खेलमा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो हार हो। यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो।