जिल्ला प्रहरी कार्यालय तनहुँले आज आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले सवारी साधन र पैदल यात्रुहरूको जाँच गर्ने क्रममा, रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ५ बस्ने ३५ वर्षीया मालती लोध र ५० वर्षीया शिला हरिजनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरुले कालो रंगको झोलामा लुकाएर ल्याएको २,५९८ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधमा Diazepam, Phenergan, र Buprenorphine प्रत्येक ८६६ एम्पुल रहेका छन्।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। लागुऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अगाडि बढाइने प्रहरीले बताएको छ।