२१ जेष्ठ २०८२ , बुधबार

थासाङ गाउँपालिका नामक गीत सार्वजनिक

News
१९ जेष्ठ, काठमाण्डौँ ।

कवि भूमी शेरचनको जन्मथलो थाक टुुकुचेकी सामाजिक अभियान्ता, साहित्य सर्जक एवं गीतकार विमला तुलाचनले ‘थासाङ गाउँपालिका’ नामक गीत सार्वजनिक गरेकी छन्। मुस्ताङको थासाङ गाउँपालिकाको पेरीफेरीमा रहेर त्यस क्षेत्रको पर्यटन प्रर्वद्धन, धार्मिक तथा सांस्कृतिक विषयवस्तु समेटेर तयार पारेको गीतको श्रव्यदृश्य खेन रिम्पोर्छे डा मङ्गलध्वज तुलाचन र थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा विमोचन गरे।

थासाङ—१ टुकुचेस्थित नालान्दा विद्यालयमा आज ‘थासाङ गाउँपालिका’ सार्वजनिक गरिएको हो। मुस्ताङको थासाङ गाउँपालिकाको जिवन्त कलासंस्कृतिलाई यसमार्फत उजागर गर्न खोजिएको छ। श्रव्यदृश्यमा थासाङ क्षेत्रको जिवन्त थकाली परम्परा, धर्म, संस्कृति, रहनसहन, मौलिकता र पर्यटकीय गन्तव्यको चित्रण गरिएको छ। श्रव्यदृश्यमा थकालीको बाह्र वर्षे मेला र तोरन्ल पर्वमा थकाली समुदायले अपनाउने संस्कृतिलाई समेटिएको छ। थासाङ क्षेत्रको टिटी ताल, सेकुङ ताल, भुतर्छो ताल, छाक्ताङ झरना, स्याउ बगैचा, धार्मिक गुम्बा, माने, छोर्तेनलगायतका दृश्य पनि श्रव्यदृश्यमा समेटिएको छ।

गीतकार तुलाचनले ‘हिमालपारि मुस्ताङ जिल्ला’ गीतको शब्दरचना गरेकी हुन्। उपाध्यक्ष हिराचन र वडाध्यक्ष गौतम शेरचनले थासाङ गाउँपालिकाको समग्र कथावस्तुलाई समेटेर तयार पार्नु प्रशंसनीय कार्य भएको उल्लेख गरे। हिमालपारि बोलको गीतमा दिपक लिम्बु र ममता गुरुङले स्वर दिएका छन्। गीतमा एलिसा राई, पुष्प खड्कालगायतको अभिनय रहेको छ। यसअघि गीतकार तुलाचनले चारवटा म्यूजिक भिडियो निर्माण गरिसकेकी छन्।