सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ। युवा तथा समाजसेवी नाम्गेल शेर्पा र सुजता तामाङको संयुक्त पहलमा ‘स्केट पार्क’ सञ्चालनमा ल्याइएको हो।
नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा रु ६५ लाख लगानी भएको छ। “बालबालिका तथा युवालाई खेलकुदमा जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो”, उनले भने, “पार्कमा अहिले युवा तथा बालबालिकाको आकर्षण बढ्दो छ।” स्केट अन्तरराष्ट्रिय खेल पनि भएको उल्लेख गर्दै शेर्पाले विकट क्षेत्रमा यो सञ्चालन चुनौतीपूर्ण भएको बताए। उनले यस खेलमार्फत बाह्य पर्यटक पनि आकर्षित गर्न सकिने धारणा राखे।
असार पहिलो साताबाट सञ्चालनमा आएको पार्कमार्फत यहाँको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको स्थानीय साङ्गे शेर्पाले बताए। “कोरोना महामारीपछि लगानीको वातावरण नबनेको अवस्थामा ठूलो लगानीमा सोलुखुम्बुमा पार्क निर्माण हुनुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास छ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ”, उनले भने। पार्क सञ्चालनमा आएपछि मोबाइलमा ‘गेम’ खेल्ने बालबालिकाहरु पार्कमा आउन थालेको उनको भनाइ छ।