नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यो पटकका लागि नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू व्यक्तिगत र व्यावसायिक रूपमा थप विकास गर्न चाहेकोले यो निर्णय लिएको बताएका छन्। लामिछानेले क्यानले आफ्नो यात्रामा निरन्तर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्। क्यानले नेपाली क्रिकेट र आफ्नो व्यक्तिगत विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
यद्यपि, उनले राष्ट्रिय टिमबाट खेल्न भने सधैं तयार रहेको स्पष्ट पारेका छन्। "म पहिलेको जस्तै जोश र समर्पणका साथ नेपालका लागि खेल्न जारी राख्नेछु त्यो गर्व र जिम्मेवारी सधैं मेरो हृदयको नजिक रहनेछ," उनले लेखेका छन्।
लामिछानेले जीवन एक यात्रा भएको र आफू अझै धेरै कुरा अनुभव गर्न, दिन र बन्न बाँकी रहेको बताएका छन्। "देशप्रतिको मेरो वफादारी र खेलप्रतिको मेरो जुनून सधैं मैले गर्ने हरेक कुराको मूलमा रहनेछ। कहिलेकाहीँ, छनोटहरू अलगावबाट नभई उद्देश्य र विकासको ठाउँबाट गरिन्छ," उनले थपेका छन्।
उनले नयाँ ऊर्जा र खुला हृदयका साथ यात्रा जारी रहने भन्दै आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद दिएका छन्।