नयाँ दिल्ली, वैशाख २४ - भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान रोहित शर्माले तत्काल लागु हुने गरी टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनको यो निर्णयसँगै भारतीय क्रिकेट टोलीले अब नयाँ टेस्ट कप्तानको खोजी गर्नुपर्ने भएको छ। रोहितको सन्यासको घोषणा यस्तो समयमा आएको छ जब भारतले जुन २० देखि इङ्गल्याण्डमा पाँच टेस्टको शृंखला खेल्दैछ।
रोहितले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेका छन्, "सबैलाई नमस्कार, म टेस्ट क्रिकेटबाट सन्यास लिँदैछु भन्ने जानकारी गराउन चाहन्छु। देशको लागि सेतो जर्सीमा खेल्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो। वर्षौंदेखि दिनुभएको माया र समर्थनको लागि धन्यवाद। म एकदिवसीय क्रिकेटमा भारतको प्रतिनिधित्व गरिरहनेछु।" रोहितले यसअघि टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्यास लिएका थिए।
उनको यो निर्णय पछिल्लो समय बंगलादेश र न्युजिल्यान्डविरुद्धको खराब प्रदर्शन र त्यसपछि अस्ट्रेलिया भ्रमणमा गरेको निराशाजनक प्रदर्शनपछि आएको हो। अस्ट्रेलियामा उनले ८ टेस्टमा मात्र एकपटक ५० रन पार गरेका थिए र उनको औसत १०.९३ मात्र थियो। भारतले बंगलादेशविरुद्धका दुवै टेस्ट जितेको भए पनि न्युजिल्यान्डसँग ३-० ले पराजित भएको थियो भने अस्ट्रेलियासँगको बोर्डर-गावस्कर ट्रफी शृंखला ३-१ ले गुमाएको थियो।
रोहितले अस्ट्रेलिया भ्रमणको पहिलो र अन्तिम टेस्टमा पारिवारिक कारणले भाग लिएका थिएनन्। त्यसबेला उनले खराब ब्याटिङ प्रदर्शनका कारण विश्राम लिएको बताएका थिए र यो सन्यासको निर्णय नभएको स्पष्ट पारेका थिए। तर, अहिले उनले अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका छन्। जसप्रित बुमराह हाल भारतको उपकप्तान हुन् र रोहितको अनुपस्थितिमा अस्ट्रेलियामा पहिलो र अन्तिम टेस्टमा कप्तानी गरेका थिए।
टेस्ट म्याचको दौरान स्टार स्पोर्ट्ससँग कुरा गर्दै रोहितले भनेका थिए, "मैले यो खेलमा रन बनाउन नसकेका कारण आराम लिएको हुँ। दुई-पाँच महिनापछि रन बन्ने ग्यारेन्टी छैन। मैले क्रिकेटमा धेरै देखेको छु, जीवन हरेक सेकेन्ड, हरेक मिनेट, हरेक दिन परिवर्तन हुन्छ।" उनले अगाडि भने, “मलाई विश्वास छ कि चीजहरू परिवर्तन हुन सक्छन्, तर म यथार्थवादी पनि हुनुपर्छ। माइक, कलम वा ल्यापटप भएका मानिसहरूले लेखेर वा बोलेर जीवन परिवर्तन हुँदैन। उनीहरूले कहिले सन्यास लिने, कहिले बाहिर बस्ने, कहिले कप्तानी गर्ने भन्ने निर्णय गर्न सक्दैनन्। म एक समझदार मान्छे हुँ, दुई बच्चाको बुबा हुँ। त्यसैले मलाई जीवनमा के चाहिन्छ भन्ने थाहा छ।”