आगामी २०८२ माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ अनुसार आयोगको मिति २०८२ पुस ७ गते बसेको बैठकले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरूले मिति २०८२ पुस १५ गतेदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्नेछन्। साथै, उनीहरूले मिति २०८२ पुस १६ गते सम्बन्धित प्रदेशस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको छ।
नियुक्त निर्वाचन अधिकृतहरूमा कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईं, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी तथा बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठ खटाइएकी छन्।
त्यसैगरी, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासे, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल तथा सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा निर्वाचन अधिकृतका रूपमा नियुक्त हुनु भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा मर्यादित ढङ्गले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई तीव्र बनाइएको जनाएको छ।
उक्त जानकारी निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत सार्वजनिक गर्नु भएको हो।