राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र थुनामुक्त भएका छन्। सर्वोच्च अदालतले शुक्रबार उनको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै हाजिरी जमानीमा रिहा गर्न आदेश दिएपछि मिश्र हिरासतबाट मुक्त भएका हुन्।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश दिएको हो। मिश्रलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा प्रहरीले सोही दिन पक्राउ गरेको थियो। बन्दी प्रत्यक्षीकरणको निवेदन पक्राउ परेको ४५ औँ दिनमा दर्ता भएपछि उनी ४९ औँ दिनमा रिहा भएका हुन्।
थुनामुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मिश्रले आफूले बारम्बार भन्ने गरेको ‘नविन समझदारी’मा नगएकै कारण तीनकुनेको दुःखद घटना घटेको बताए। उनले भने, "सबैभन्दा पहिला चैत १५ गतेको घटनामा जजसले ज्यान गुमाउनुभयो, उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु। त्यो सोचेको कुरा पनि होइन, न त कसैले आरोप लगाएजस्तो म जस्तो मान्छेले योजना गरेको कुरा हो। तर घटनाहरू हुन गए।"
उनले ठूला आन्दोलनहरू आयोजक वा सरकारको नियन्त्रणमा नरहने विगतका घटनाक्रमले देखाएको उल्लेख गर्दै भने, "त्यसै कारणले मैले बारम्बार मेरा टिप्पणीहरूमा शान्तिपूर्ण संक्रमण मार्फत नवीन समझदारीमा जाउँ भन्ने गरेको थिएँ।"
मिश्रले आफू केवल हाजिरी जमानीमा छुटेकाले पूर्ण रूपमा खुसी नभएको बताए। "सिंगो राज्य म विरुद्ध लागेको छ भन्ने कुरा यहाँ सम्मानित अधिवक्ताज्यूहरुले पनि भन्नुभयो। यो राजनीति हुकुम प्रमाङ्गी प्रयोग गरिएको हो। मुद्दा बाँकी नै छ र त्यसमा म लागिरहन्छु," उनले भने।
उनले आफू राजनीतिक मान्छे भएको र राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाको लागि काम गरेको स्वीकार गरे तापनि राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव आफूबाट नभएको दाबी गरे। "अहिलेसम्म मलाई नजिकबाट पार्टीका, पार्टीभन्दा बाहिर रहेका, मिडियाका, देशभर चिनेका, नचिनेका, विदेशमा रहेका, शुभेच्छुकहरुले, साथीहरुले ममाथि विश्वास गरेर रविन्द्र मिश्रबाट यस्तो भएको हुन सक्दैन भनेर विश्वास गर्नुभयो, उहाँहरू सबैप्रति पनि म आभार प्रकट गर्न चाहन्छु," मिश्रले थपे।
सुरुमा अनुसन्धानमा सघाउने मनसायले बन्दी प्रत्यक्षीकरणमा नगएको तर राज्यले नागरिक अधिकार खोसेको महसुस भएपछि निवेदन दिएको उनको भनाइ थियो। उनले आफ्नो पक्षमा निःशुल्क बहस गर्ने अधिवक्ताहरू र रिहाइको आदेश दिने न्यायाधीशहरूप्रति आभार प्रकट गरे।