२० फाल्गुन २०८२ , बुधबार

रवि–बालेनबिच सात बुँदे सहमति

News
१३ पुष, काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् राजनीतिक एकता’ कायम गर्ने विषयमा सात बुँदे सहमति भएको छ। दुबै नेताले आइतबार प्रतिनिधिसभा निर्वाचन एउटै दलमार्फत लड्ने घोषणा गर्दै उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

सहमति अनुसार रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रहनुहुनेछ भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछिको संसदीय दलको नेताका रूपमा बालेन्द्र शाहलाई अघि सार्दै भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गरिने उल्लेख गरिएको छ।

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै कायम रहने तथा निर्वाचन चिह्न ‘घण्टी’ यथावत् रहने सहमतिमा उल्लेख छ। सहमतिपत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीअन्तर्गत सुशासन कायम गर्दै आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

यसैगरी, भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले विभिन्न कालखण्डमा सञ्चालन गरेका आन्दोलन, विशेषतः भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने विषयमा पनि दुबै पक्षबीच सहमति भएको छ।

सहमति अनुसार बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सबल र समावेशी बनाइने, सार्वजनिक छवि भएका युवा अभियन्ता, दक्ष पेशेवर तथा अनुभवी विज्ञहरूलाई उपयुक्त जिम्मेवारी प्रदान गरिनेछ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र निर्वाचन चिह्न ‘घण्टी’ वरिपरि गोलबद्ध भई अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत गरिएको छ।