पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यस वर्ष पोखरामा आयोजना हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा हुने यो प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देशीय कभर्ड हलमा सञ्चालन हुनेछ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ भने नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५/२५ हजार रुपैयाँ पाउनेछन्। लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ। लिगको अनुमानित बजेट ९० लाख रुपैयाँ रहेको भलिबल सङ्घले जनाएको छ।