निरन्तरको मेहनतले देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका एक युवाले प्रस्तुत गरेका छन्। मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।
कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर र बाख्रापालन सुरु गरेको सापकोटाले बताए। उनले भने, “कुखुरामा डुबेको थिएँ, बङ्गुर पालेर उठे।” उनको फार्ममा हाल ५० वटा बङ्गुर र २० वटा बाख्रा छन्। मासु र पाठापाठीका लागि ल्याडरेस जातका बङ्गुर पाल्नुभएको छ। फार्ममा जमुनापारी र खरी जातका बाख्रा छन्। सापकोटाले प्रतिकिलो रु छ सयका दरले मासिक छ हजारदेखि सात हजार किलोग्राम बङ्गुरको मासु र प्रतिगोटा रु सात हजारका दरले वार्षिक तीन सय बङ्गुरका पाठापाठी बिक्री हुने गरेको बताए।
मासुको बिक्री गर्न सापकोटाले मङ्गला गाउँपालिका–२ बाबियाचौरमा मासु पसल पनि सञ्चालन गरेका छन्। बाबियाचौरका साथै मुस्ताङका होटलमा बङ्गुरको मासु खपत हुने गरेको छ। फार्ममा विमलसहित परिवारका थप चार जना सदस्यले रोजगारी पाएका छन्। बुबा तारानाथ सापकोटा, आमा चित्रकला र श्रीमती सुकमायाले विमललाई बङ्गुरपालनमा सघाउँछन्। "छिमेकी र आफन्तले बाहुनले बङ्गुर पाल्न हुँदैन भनेर सुझाएका थिए", तारानाथले भने, "पहिले बङ्गुर नपाल्न सुझाव दिनेहरू अहिले व्यापार देखेर छक्क पर्छन्।"
सापकोटाको बङ्गुर फार्म व्यवस्थित र सफा छ। माउ, भाले, पाठापाठी राख्ने फरकफरक कोठा छन्। रोगबाट बचाउन फार्मको नियमित सरसफाइ गरिन्छ। फार्मको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। सो फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामै पहिलोपटक गत चैतमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा बीर्यबाट कृत्रिम गर्भाधान गरिएको थियो। परियोजनाका साथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र मङ्गला गाउँपालिकाको पशु सेवा शाखाले प्राविधिक सहयोग गरेका छन्।
सापकोटाको अनुभवमा महामारीजन्य रोगबाट बचाउनु बङ्गुरपालनको प्रमुख चुनौती हो। दाना आयात गरेर खुवाउनुपर्दा आम्दानीको ठूलो हिस्सा दानामा खर्च हुने गर्छ। बङ्गुरका पाठापाठी र मासुको माग बढेकाले फार्मको क्षमता विस्तार गर्ने उनको योजना छ। "घरव्यवहार र परिस्थितिका कारण कक्षा १० पढेपछि व्यवसायमा जोडिएको थिएँ", उनले भने, "विदेश जाने योजना बनाएको छैन। स्वदेशमै व्यवसायलाई निरन्तरता दिन्छु। बङ्गुरपालनबाट सन्तुष्ट छु।"