जिल्ला अदालतबाट फैसला भएर पनि विभिन्न मुद्दामा फरार रहेका सात सय जना प्रतिवादी अझै पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ। फरार भएकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा फरार भएका ८२१ जनामध्ये १२१ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १६ महिला र १०५ पुरुष रहेका छन्। पक्राउ परेकाहरूबाट १७ वर्ष तीन महिना १९ दिन कैद भुक्तान भएको छ।
"प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेस गरेकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो," उनले भने, "अरु फरार प्रतिवादीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।" पक्राउ गरिएका प्रतिवादीबाट रु ३४ लाख ८९ हजार ६२८ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
त्यसैगरी अवैध नदीजन्य उत्खन्नमा संलग्न ८० सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ। ती सवारी साधनले स्थानीय तहमा रु १० लाख ७२ हजार जरिवाना बुझाएर छुटेका छन्। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६.७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ।
जबरर्जस्ती करणीका १६, कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी २६ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। जुवातासका १२ वटा मुद्दा दर्ता भएकोमा एक महिलासहित १०३ जनालाई पक्राउ गरेको थियो। उक्त जुवाखालबाट रु १० लाख तीन हजार ४०५ बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताए।