२८ मंसिर २०८२ , आईतवार

एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम पुनः फाइनलमा पराजित

News
२७ मंसिर, काठमाण्डौँ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले आफ्नो नाममा लेखाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ८५ रनको सामान्य योगफल तयार गरेको थियो। लुम्बिनी लायन्सले प्राप्त गरेको ८६ रनको लक्ष्य नौ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्‍यो।

लुम्बिनीका तर्फबाट दिनेश अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४२ रन बनाउनु भयो। कप्तान रोहित पौडेलले १६ रन योगदान गर्दा डार्सी सटले १४ रन तथा निरोशन डिकवेलाले १० रन थप्नुभयो।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त थामीले दुई विकेट लिनुभयो भने कप्तान दीपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एक–एक विकेट हात पार्नुभयो।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका सुदूरपश्चिम रोयल्स लुम्बिनीको अनुशासित बलिङ सामु टिक्न सकेन। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनु भयो। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन जोड्दा हर्षित सिंह र स्कट कग्लेजिनले समान १०–१० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीको बलिङ आक्रमणमा कप्तान रोहितकुमार पौडेल विशेष रूपमा चम्किनुभयो। उहाँले ११ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा क्रमशः दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै ह्याट्रिक पूरा गर्नुभयो। यस्तै, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले तीन–तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट हात पार्नुभयो।

यसअघि पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको थियो भने लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि भिडन्त सुरक्षित गरेको थियो।

गत सिजन उपविजेता बनेको सुदूरपश्चिम रोयल्स यस पटक पनि फाइनलमा पराजित हुँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेर चुक्न पुगेको छ। उता, अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले यस संस्करणमा उल्लेखनीय पुनरागमन गर्दै उपाधि जित्न सफल भएको छ।