२१ मंसिर २०८२ , आईतवार

एनपिएल दोस्रो संस्करण : शनिबार दुई खेल हुँदै

News
२० मंसिर, काठमाण्डौँ ।

राजधानी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई महत्वपूर्ण तथा प्रतिक्षित खेलहरू आयोजना हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा निर्धारित यी खेलहरू प्रतियोगिताको प्लेअफ समीकरणमा उल्लेखनीय प्रभाव पार्ने मानिएको छ।

पहिलो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ, जसमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। सुदूरपश्चिम रोयल्सले यसअघिका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १२ अंकसहित पहिलो क्वालिफायरमा प्रवेश गरिसकेको छ, जसले गर्दा उसमाथि अतिरिक्त दवाब रहने छैन। अन्यातर्फ, विराटनगर किङ्ग्सले आठ अंकका साथ प्लेअफ स्थान सुनिश्चित गरिसकेको भए पनि पहिलो क्वालिफायरमा पुग्न आजको खेलमा सानदार प्रदर्शन गर्दै जीत दर्ता गर्नुपर्नेछ। राम्रो रनरेटसहित जित हात पार्न सके विराटनगरले सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा सहभागी हुनेछ, अन्यथा उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नु पर्नेछ।

यसपछि दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ। यी दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेकाले यो खेल मुख्यतः प्रतिष्ठाको प्रतिस्पर्धा मात्र हुने देखिन्छ। चितवन र पोखराले अहिलेसम्मका छ खेलबाट चार–चार अंक मात्र जोड्न सफल भएका छन्।

समग्र रूपमा आजका दुवै खेलले एनपिएल प्रतियोगिताको शेष चरणमा आवश्यक रणनीति, आत्मविश्वास र मानसिक तयारीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।