आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौथो चरणको पहिलो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
उक्त त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै नेदरल्याण्ड्स पनि सहभागी छ।
हालसम्म नेपाल र स्कटल्याण्डबीच आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले चार र स्कटल्याण्डले तीन खेल जितेका छन्। एक खेल भने नतिजाविहीन भएको थियो। विश्वकप लिग-२ मा नेपाल १२ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ भने स्कटल्याण्ड १६ खेलबाट २० अङ्क जोडेर चौथो स्थानमा छ।
आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र रिजन ढकाल रहेका छन्।