आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले स्थानीय न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो।
न्यू पोर्टले प्रस्तुत गरेको २१३ रनको लक्ष्य नेपालले ३८ औं ओभरमा ७ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यान गुलशन झा र आरिफ शेखले उत्कृष्ट शतकीय साझेदारी गरे। शीर्षक्रमका ब्याट्सम्यानहरु सस्तैमा समेटिएपछि एक समय नेपाल ५६ रनमा ६ विकेट गुमाएर कमजोर स्थितिमा पुगेको थियो।
तर, सातौं विकेटका लागि गुलशन र आरिफले १३३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितको आधार तयार पारे। गुलशनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८० रनको योगदान दिए भने आरिफ शेख ७२ रनमा अविजित रहे। सोमपाल कामीले अविजित ९ रन जोडे। नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा टोलीको कप्तानी सम्हालेका दीपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए।
त्यसअघि, कार्डिफस्थित खेल मैदानमा पहिले ब्याटिङ गरेको न्यू पोर्ट क्रिकेट क्लबले निर्धारित ओभरमा २१२ रनको योगफल तयार पारेको थियो। उसका लागि ओपनर विल त्रिप्कोलीले शतकीय पारी खेल्दै ११८ रन बनाए। बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान १-१ विकेट लिए।
नेपाली टोलीले स्कटल्याण्ड 'ए' सँग दुई तथा एक विश्वविद्यालय टोलीसँग थप अभ्यास खेल खेल्ने तालिका रहेको छ। टोलीका नियमित कप्तान रोहित पौडेल शनिबार बेलायत प्रस्थान गर्ने कार्यक्रम छ।