१८ जेष्ठ २०८२ , आईतवार

साफ यु–१९: नेपाल भारतसँग पराजित, दुवै टोली सेमिफाइनलमा

News
३ जेष्ठ, काठमाण्डौँ ।

साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली युवा टोली घरेलु टोली भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

मंगलबार राति भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रङ्गशालामा सम्पन्न खेलमा नेपाल आयोजक भारतसँग ४–० गोल अन्तरले स्तब्ध बन्यो । यस जितसँगै समूह ‘बी’ मा लगातार दोस्रो जित दर्ता गर्दै ६ अङ्कका साथ भारत समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

यद्यपि, प्रतियोगितामा पहिलो हार व्यहोरेको नेपालले पनि समूह उपविजेताका रूपमा सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । यसअघि भएका खेलहरूमा नेपालले श्रीलङ्कालाई ५–० गोलले पराजित गरेको थियो भने भारतले श्रीलङ्कालाई ८–० को फराकिलो गोलअन्तरले हराएको थियो ।

निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको खेलमा भारतले एकपक्षीय दबाब बनायो । भारतको जितमा रोहिन सिंहले व्यक्तिगत दुई गोल गर्दा ओमङ्ग डोडुम र ड्यानी मिथेइले एक–एक गोल थपे ।

अब प्रतियोगिताको सेमिफाइनल खेलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्सको सामना गर्नेछ भने नेपालले समूह ‘ए’ को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।