एसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार भएको टसमा नेपाली यू–१९ टोलीका कप्तान नरेन भट्टले ओमानलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
नेपालले आजको खेलमा प्लेइङ ११ मा एक परिवर्तन गरेको छ। शनिबार यूएईविरुद्धको पहिलो खेलमा ५ रन मात्र बनाउन सकेका दर्श सोनारको स्थानमा तीव्र बलर दयानन्द मण्डललाई टोलीमा समावेश गरिएको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा शनिबार यूएईलाई ५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। उता, ओमान भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो।
नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ सहभागी यो छनोट प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा खेलाइँदैछ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछ।