१३ बैशाख २०८२ , शनिबार

नेपालको विजयी सुरुवात, यूएईलाई ५ रनले हरायो

News
१ बैशाख, काठमाण्डौँ ।

नेपालले आइसिसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हराएको हो । वर्षाले प्रभावित खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो ।

४० ओभरमा खेलाइएको खेलमा जितका लागि नेपालले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि वर्षा र अप्रयाप्त प्रकाशको कारण खेल फेरि हुन नसक्दा नेपाल डिएलएसका आधारमा विजयी बनेको हो । यूएईका यायिन किरण राईले अविजित एक सय चार रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । नेपालका लागि कप्तान नरेन भट्टले ७५ बलमा सात चौकाको सहयोगमा सर्वाधिक ६७ रन बनाए । बलिङमा यूएईका युदिश सुरीले तीन विकेट लिए ।

यसैगरी मुलपानी मैदानमा आइतबार नै भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको छ । छनोटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ ।