२७ बैशाख २०८२ , शनिबार

एसिया छनोटमा नेपालको शानदार सुरुवात, बहराइनलाई ९ विकेटले हरायो

News
२७ बैशाख, काठमाण्डौँ ।

आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ। वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा कविता कुँवरले १८ रनको योगदान गरिन् भने सम्झना खड्का १८ रनमा अविजित रहिन्। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाएको थियो। बहराइनका लागि कप्तान दीपिका रसानगीकाले सर्वाधिक ३४ रन बनाइन्। नेपालकी बलर पुजा महतोले एक विकेट लिइन्।

आजको जितसँगै समूह 'सी' मा नेपालको दुई खेलबाट ३ अंक भएको छ र टोली शीर्ष स्थानमा छ। यसअघि शुक्रबार हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले १ अंक बाँडेको थियो। अब नेपालले मे १३ मा फेरि हङकङ र मे १५ मा बहराइनसँग खेल्ने तालिका छ।

एसिया छनोटमा कुल ९ देश सहभागी छन्। नेपाल रहेको समूह 'सी' मा बहराइन र हङकङ छन्। समूह 'ए' मा भुटान, कुवेत र थाइल्याण्ड छन् भने समूह 'बी' मा मलेसिया, कतार र युएई रहेका छन्। प्रत्येक समूहका शीर्ष टोलीहरू फाइनल राउण्डमा प्रवेश गर्नेछन् र फाइनल राउण्डमा एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीहरू विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ। नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, ईश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन्।