राष्ट्रिय पुरुष क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले २०२६ मा हुने टी२० विश्वकपमा नेपाललाई छनोट गराउने मुख्य लक्ष्य निर्धारण गरेका छन्। शनिबारदेखि आफ्नो दुईवर्षे कार्यकाल औपचारिक रूपमा सुरु गर्दै उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन्।
अप्रिलको सुरुमा नियुक्त भएका अस्ट्रेलियाली प्रशिक्षक ल शुक्रबार राति काठमाडौं आइपुगेका थिए । शनिबार बिहानै उनी खेलाडीहरूको मूल्यांकन गर्दै बलियो टोली निर्माण गर्ने उद्देश्यका साथ मूलपानीस्थित क्रिकेट मैदान पुगेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार तल्लो मूलपानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षकका रूपमा प्रस्तुत हुँदै लले आफ्नो प्राथमिकता स्पष्ट पारे। "मलाई हार्न मन पर्दैन, म हार सहन सक्दिनँ," उनले भने, "मेरो प्रमुख लक्ष्य २०२६ को टी२० विश्वकपमा छनोट हुनु हुनेछ।"
यद्यपि, २०२७ को एकदिवसीय विश्वकप छनोटको मार्गचित्र मानिएको आईसीसी विश्वकप लिग २ लाई पनि हल्का रूपमा नलिने उनले बताए। "कुनै पनि प्रशिक्षकका लागि विश्वकपमा आफ्नो टोलीको प्रतिनिधित्व गर्नु विशेष हुन्छ," उनले थपे, "टी२० विश्वकप नजिक भएकाले हाम्रो ध्यान तत्काल त्यसमै केन्द्रित हुनेछ।"
नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी२० विश्वकप एसिया क्षेत्रीय छनोटमा प्रतिस्पर्धा गर्दैछ, जहाँ शीर्ष तीन टोलीले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने २०२६ को टी२० विश्वकपमा स्थान बनाउनेछन्। यदि ल सफल भए, नेपाल तेस्रो पटक टी२० विश्वकपमा पुग्नेछ र यो लगातार दोस्रो सहभागिता हुनेछ। यसअघि नेपालले २०१४ र २०२४ मा विश्वकप खेलेको थियो।

दक्षिण एसियाली क्रिकेट लका लागि नौलो होइन। उनले यसअघि श्रीलंका, बंगलादेश र अफगानिस्तानको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइसकेका छन्।
"उहाँले नेपाललाई आफ्नो नयाँ घर बनाउनु भएकोमा हामी खुसी छौं," क्यानका सचिव पारस खड्काले शनिबार ललाई स्वागत गर्दै भने, "नेपाली क्रिकेट विकासबारे हाम्रो दृष्टिकोण मिल्छ। उहाँले ठूला टोलीहरूसँग धेरै उपलब्धि हासिल गर्नुभएको छ र हामी विश्वस्त छौं कि उहाँले नेपाललाई पनि मद्दत गर्न सक्नुहुन्छ।"

प्रशिक्षक लले पनि विगतमा कप्तान रोहित पौडेल र क्यानका पदाधिकारीसँग इमेल र टेक्स्टमार्फत सम्पर्कमा रहे पनि अब प्रत्यक्ष रूपमा सँगै बसेर योजना बनाउने बताए। खेलाडीका रूपमा अस्ट्रेलियाबाट १९९६ को विश्वकप उपविजेता बनेका लले वेस्ट इन्डिज र अमेरिकाको टोलीलाई पनि प्रशिक्षण दिइसकेका छन्।
नेपालको टेस्ट खेल्ने राष्ट्र बन्ने महत्वाकांक्षाबारे जानकार रहेको बताउँदै उनले यसका लागि समय लाग्ने र तल्लो तहदेखि नै उचित संरचना र क्रिकेट संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।
पत्रकार सम्मेलनलगत्तै मैदान पुगेका लले ५२ खेलाडी सम्मिलित बन्द प्रशिक्षण क्याम्पका सदस्यहरूलाई भेटे। उनले खेलाडीहरूको मानसिकता बुझ्न र टोलीमा केही 'सामान्य परिवर्तन' हुन सक्ने संकेत गरे। यस क्याम्पमा खेलाडीलाई चार टोलीमा विभाजन गरी अप्रिल २६ देखि मे ३ सम्म मैत्रीपूर्ण प्रतियोगिता खेलाइँदैछ, जसले खेलाडी छनोटमा सघाउने अपेक्षा छ।

शनिबार नै भएको अभ्यास खेलमा भीम सार्कीले सानदार शतक प्रहार गर्दै नयाँ प्रशिक्षकलाई स्वागत गरेका छन्। माथिल्लो मूलपानी मैदानमा सन्दीप लामिछाने नेतृत्वको टिम रेडबाट खेल्दै सार्कीले १२६ रन बनाए। उनको टोलीले दिएको ३४८ रनको लक्ष्य पछ्याएको रोहित पौडेल नेतृत्वको टिम ब्लू १४८ रनमा समेटियो। तल्लो मूलपानीमा भएको अर्को खेलमा दीपेन्द्रसिंह ऐरीको टिम येलोले आसिफ शेखको टिम ग्रीनलाई १७ रनले पराजित गर्यो।