२० फाल्गुन २०८२ , बुधबार

निर्वाचन सुरक्षा सुदृढ बनाउने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

News
२० फाल्गुन, काठमाण्डौँ ।

राष्ट्रिय सुरक्षा परिषद्ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण तथा त्रुटिरहित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समग्र समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक पर्ने सबै सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको हो।

बैठकले मुलुकभर शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायहरूलाई अझ प्रभावकारी तथा समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकमा निर्वाचनलाई सुरक्षित र व्यवस्थित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।