मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात सुरु भएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर, दामोदर कुण्ड गाउँपालिका लगायत आसपासका क्षेत्रका केही ठाउँमा आंशिक हिमपात भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार, तिब्बतसँग सीमा जोडिएका छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमान्थाङ, घमी, चराङ, सुरखाङ लगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
“लोमान्थाङ बजारमै हिमपात भइरहेको छ, चिसो बढेको छ। उपल्लो मुस्ताङ जाने पर्यटकले सतर्कता अपनाउनुपर्ने देखिन्छ,” पौडेलले बताए।
त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा वर्षा भइरहेको छ भने मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा हिमपातले जनजीवन प्रभावित बनाएको छ। मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले डाँडाकाँडा सेताम्मे हुन थालेको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले बिदा मनाउन गएका पर्यटकलाई सुरक्षित बस्न र यात्रा नगर्न सचेत रहन अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालका अनुसार, हिमपात र वर्षाले पर्यटकलाई प्रभावित बनाउन सक्छ र जिल्लाभर सुरक्षा निकायलाई अलर्ट राखिएको छ।
मुस्ताङमा यो सिजनको पहिलो हिमपात भएकोले कृषक भने उत्साहित छन्, जबकि पर्यटक र स्थानीयले सतर्कता अपनाउनुपर्ने अवस्था छ।