२१ मंसिर २०८२ , आईतवार

बजेटकाे अभावले महेन्द्रनगर क्रिकेट स्टेडियम निर्माण अलपत्र

News
१० जेष्ठ, काठमाण्डौँ ।

सरकारले क्रिकेट स्टेडियम निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ।

विसं २०७४ सालमा महेन्द्रनगरस्थित कभर्डहलमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माणका लागि ‘डीपीआर’ तयार गरेर निर्माण थालनी गरिएको थियो। आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचास लाख रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेन। कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढी बजेट माटो भर्नमै सकिएपछि अरु काम अघि बढ्न सकेन।

क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको गुनासो गरे। “हामीले कुनै प्रतियोगिता सञ्चालन गर्नुपर्यो भने हामीसँग खेल मैदान छैन,” उनले भने, “कभर्ड हलमा एउटा खेल मैदान छ, त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ।” उनले सरकारको प्राथमिकतामा नपर्दा क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन हुन नसकेको बताए। “कभर्डहलमा अन्तर्राष्ट्रिय स्टेडियमका लागि डीपीआर तयार भएको पनि आठ वर्ष भइसक्यो, स्टेडियमको काम प्रारम्भ हुन सकेको छैन,” चन्दले भने, “नेपालको हरेक समूहका राष्ट्रिय क्रिकेट टिममा कञ्चनपुरका खेलाडी छन्, तर यहाँ खेल मैदान बन्न सकेको छैन।” उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट डेढ करोड बजेट आए पनि उक्त रकम माटो भर्नमै सकिएको छ। क्रिकेट स्टेडियम निर्माणका लागि कभर्डहल क्षेत्रमा साढे चार कट्ठा जग्गा छुट्याइएको छ।

विभिन्न खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन्। जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले क्रिकेटको उर्वर भूमि भए पनि यहाँ प्रतियोगिता सञ्चालनका लागि क्रिकेट स्टेडियम बन्न नसकेको बताए। “राज्यको प्राथमिकतामा पर्न नसक्दा अहिलेसम्म क्रिकेट खेलमैदान बन्न सकेको छैन,” उनले भने, “पर्याप्त बजेटको अभाव र खेलाडीहरु सुविधाविहीन छन्, भएको बजेटको पनि सदुपयोग हुन सकेको छैन।” उनले सरकारले प्राथमिकताका साथ खेल पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।

क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका चर्चित खेलाडी उत्पादनको हब कञ्चनपुर जिल्ला हो। अहिले पनि कञ्चनपुरका मात्रै चार जना क्रिकेट खेलाडी नेपालको राष्ट्रिय क्रिकेट टोलीमा छन्। विश्वकीर्तिमान बनाउने दीपेन्द्रसिंह ऐरीदेखि नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा परेको छैन। महिला क्रिकेटको राष्ट्रिय टीमदेखि हरेक समूहका राष्ट्रिय टिममा कञ्चनपुरका खेलाडीको वर्चस्व छ।

पछिल्लो पुस्तामा प्रतिभावान खेलाडी देखिएका पनि खेल पूर्वाधार र पर्याप्त सेवासुविधा नहुँदा खेलाडी पलायन भइरहेका छन्। महेन्द्रनगरस्थित कभर्डहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरीत प्रयोग गरेपछि खेलाडीले कभर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको यहाँका स्थानीय बताउँछन्। “राष्ट्रिय टीममा कञ्चनपुरकै खेलाडीको प्रतिनिधित्व धेरै छ, यहाँका खेलाडीले गोल्ड मेडलसम्म ल्याएर देशको नाम चिनाएका छन्,” यहाँका स्थानीय किशन थापाले भने, “क्रिकेटमा दुर्लभ विश्वकीर्तिमान राख्ने खेलाडी दीपेन्द्र यहिको उत्पादन हुन्, तर राज्यको ध्यान खेलाडीको वृद्धि विकासमा पुग्न सकेन।”

उनले राष्ट्रिय टीम र अन्य विभागीय टीमसमेतमा कञ्चनपुरकै खेलाडीको वर्चस्व रहेको बताउँदै जिल्लास्तरमा खेलका पूर्वाधार नहुनु बिडम्बना भएको बताए। पछिल्लो समय मुलुकमा क्रिकेटको क्रेज रहेकाले सरकारले सातवटै प्रदेशमा क्रिकेट स्टेडियम निर्माण गर्नुपर्नुपर्ने क्रिकेट खेलका शुभचिन्तक बताउँछन्। “सरकारले सातै प्रदेशमा क्रिकेट स्टेडियम निर्माण गरेर अब हुने नेपाल प्रिमियम लिगका खेल सबै ठाउँमा खेलाउनुपर्छ,” यहाँका स्थानीय मनोज पाण्डेयले भने, “सुविधा सम्पन्न खेल मैदानको अभाव भए पनि ग्रासरुटमा विभिन्न प्रतियोगिता भइरहेका हुन्छन्।”