१५ बैशाख २०८२ , सोमबार

लिभरपुलले जित्यो प्रिमियर लिग उपाधि, म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबरी

News
१५ बैशाख, काठमाण्डौँ ।

इङ्लिस क्लब लिभरपुलले टोटनहम हटस्परलाई ५-१ गोल अन्तरले पराजित गर्दै प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। यो जितसँगै लिभरपुलले सर्वाधिक २० पटक इङ्लिस लिग उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबरी गरेको छ।

आइतबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा जित हात पारेसँगै क्लबले उपाधि सुनिश्चित गरेको हो। खेल सुरु हुनुअघिदेखि नै हजारौं समर्थकहरु एनफिल्ड वरपर जम्मा भएका थिए र वातावरण उत्सवमय बनेको थियो।

यो जित लिभरपुलका लागि विशेष रह्यो किनभने उनीहरूले ३५ वर्षपछि पहिलो पटक आफ्नै घरेलु मैदानमा, आफ्नै समर्थकहरुको अगाडि लिग उपाधि जितको उत्सव मनाउन पाएका हुन्। यसअघि सन् १९९० मा सर केनी डाल्ग्लिशको नेतृत्वमा लिभरपुलले एनफिल्डमा उपाधि जितेको थियो। डाल्ग्लिश पनि यो खेल हेर्न स्टेडियममा उपस्थित थिए।

सन् २०२० मा यर्गन क्लोपको प्रशिक्षणमा लिभरपुलले प्रिमियर लिग जिते पनि कोभिड-१९ महामारीका कारण समर्थक बिना खाली स्टेडियममा उपाधि उचाल्नु परेको थियो। यसपटकको जितपछि खेलाडी र समर्थकहरूले मैदानमै भावुक हुँदै खुसीयाली साटासाट गरेका थिए।

खेलमा डोमिनिक सोलान्केले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाए पनि लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित दर्ता गर्‍यो। मोहमद सलाहले एक गोल गर्नुका साथै कोप स्ट्याण्डका समर्थकहरुसँग सेल्फी खिच्दै उत्सव मनाएका थिए।

नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा लिभरपुलले यो सफलता हासिल गरेको हो। गत सिजनको अन्त्यमा चर्चित प्रशिक्षक यर्गन क्लोपले क्लब छाडेपछि स्लटले जिम्मेवारी सम्हालेका थिए। कप्तान भर्जिल भान डाइकले क्लोपको स्थान लिनु चुनौतीपूर्ण भए पनि स्लटले आफ्नो तरिकाले काम गर्दै टोलीलाई सफलता दिलाएको र यसको श्रेय उनलाई जाने बताए।

स्लटले जितपछि आफू क्लबको इतिहासको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गर्दै यो जित अविश्वसनीय रहेको प्रतिक्रिया दिएका छन्। यो सफलताले स्लटलाई क्लोपको योग्य उत्तराधिकारीका रूपमा स्थापित गरेको छ।