ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा ललितपुरले पोखरालाई २-१ गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो।
खेलमा ललितपुरले पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको ४१ औं मिनेटमा ललितपुरका विदेशी खेलाडीले गोल गर्दै टोलीलाई १-० को स्थितिमा पुर्याएका थिए।
दोस्रो हाफमा पोखरा खेलमा फर्कियो। ६२ औं मिनेटमा पोखराका लागि सुदिल राईले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। तर, ललितपुरले ७३ औं मिनेटमा पुनः विदेशी खेलाडीमार्फत गोल गर्दै २-१ को अग्रता बनायो, जुन नै खेलको निर्णायक गोल सावित भयो।
उपाधिसँगै ललितपुर सिटी एफसीले नगद ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको पोखरा थन्डर्सले ३० लाख रुपैयाँमा चित्त बुझायो।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा गत चैत १७ गतेदेखि सुरु भएको यो एनएसएलको तेस्रो संस्करण हो। प्रतियोगितामा कुल ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। ललितपुरको यो लगातार दोस्रो एनएसएल उपाधि हो।