२४ जेष्ठ २०८२ , शनिबार

इलाममा कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु

News
२४ जेष्ठ, काठमाण्डौँ ।

बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आज यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ।

जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा फूलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो। सदरमुकाममा आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरेका हुन्।

सङ्घका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिने बताए। “पुरस्कारमा मात्र रु एक लाख १९ हजार खर्च हुनेछ”, उनले भने। आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले रु २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः रु १० हजार, रु सात हजार, रु छ हजार र रु पाँच हजार पाउनेछन्। छैटौँदेखि १० स्थानसम्मलाई जनही रु चार हजारले पुरस्कृत गरिनेछ।

भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही रु चार हजार पाउनेछन्। विद्यालयस्तरीयमा प्रथमले रु तीन हजार र दोस्रोले रु दुई हजार, हिल च्याम्पियन प्रथमले रु चार हजार दोस्रोले रु तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन रु दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन्।

इलाम प्रथमले रु चार हजार तथा दोस्रोदेखि पाँचौँ स्थानसम्मकाले रु दुई हजारका दरले पुरस्कार पाउनेछन्। स्वीस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन्। यो प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङ्मीले दिवङ्गत आमा फूलमतीको सम्झनामा रु एक लाख नगद सहयोग गरेका छन्।