८ कार्तिक २०८२ , शनिबार

सोलुखुम्बुमा जिप दुर्घटनामा तीन जनाको मृत्यु, छ घाइते

News
७ कार्तिक, काठमाण्डौँ ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–६ मा प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिप महाकुलुङ गाउँपालिकाका लागि छुटेको थियो।

दुर्घटना बिहीबार साँझ भएको थियो। दुर्घटनामा छ जना घाइते भएका छन्। प्रहरीका अनुसार जिपमा सवार सबै यात्रु सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा थिए। गाडी ब्रेक फेल भएर सडकबाट करिब ६०० मिटर तल खसेको छ।

मृत्यु हुनेमा महाकुलुङ गाउँपालिका–३ का १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई, र १७ वर्षीय निर्जला राई रहेका छन्।

घाइतेहरूमा महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई, महाकुलुङ–४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई, र १० वर्षीय उमेश राई रहेका छन्।

जिपमा सवार ११ जना मध्ये दुई जना सकुशल रहेका छन्। घाइतेहरूको उपचार जिल्ला अस्पताल फाप्लुमा भइरहेको छ भने मृतकहरूको शव महाकुलुङ अस्पताल पठाइएको छ।