जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रियामा धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तीव्र पारेको छ। अख्तियारले बुधबार धितोपत्र बोर्डको कार्यालयमा छापा मारी आईपीओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ।
अख्तियार स्रोतका अनुसार, बोर्डका अधिकारीहरूले आईपीओ प्रक्रियामा संलग्न कम्पनीहरूसँग कमिसन मागेको भन्ने गुनासो आएपछि अनुसन्धान थालिएको हो। बुधबार दिउँसो अख्तियारको टोली बोर्डको कार्यालय पुगेर ती कम्पनीहरूसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले केही समयअघि धितोपत्र बोर्डले आईपीओ प्रवर्द्धकहरूसँग कमिसन माग गरेको खुलासा गरेका थिए। कार्कीका अनुसार बोर्डले सुरुमा ३ प्रतिशत कमिसन मागेको थियो, तर पछि ५ देखि ७ प्रतिशतसम्म पुर्याएको थियो। यो विषय संसदमा समेत जोडतोडले उठेको थियो, जहाँ सांसदहरूले बोर्डले २२ महिनादेखि आईपीओ निवेदन रोकेर कमिसनको बार्गेनिङ गरेको आरोप लगाएका थिए। अख्तियारले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको छ।