सरकारले विभिन्न खेलका ८१ वटा अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा पदक प्राप्त गर्ने ५६ खेलाडी तथा प्रशिक्षकलाई रु दुई करोड २२ लाख ७७ हजार पुरस्कार उपलब्ध गराएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आर्थिक सर्वेक्षणमा उक्त रकम उपलब्ध गराएको उल्लेख गरिएको छ।
आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म राष्ट्रियस्तरका ४९ र अन्तरराष्ट्रियस्तरका १३ गरी ६२ प्रतियोगिता आयोजना गरिएको उल्लेख छ।
त्यसैगरी, ७६ अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा नेपालले भाग लिएको थियो। गत आर्थिक वर्षमा राष्ट्रियस्तरका ७० तथा अन्तरराष्ट्रियस्तरका ३५ खेलकुद प्रतियोगिता आयोजना भएका थिए।
प्रत्येक प्रदेशमा एक/एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरूप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ।