१३ बैशाख २०८२ , शनिबार

गण्डकी हिरोज केपी ओली कप टी-२० क्रिकेट च्याम्पियन

News
६ बैशाख, काठमाण्डौँ ।

गण्डकी हिरोजले केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा गण्डकीले सिइसी काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट भयो। जवाफी ब्याटिङमा गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा अविजित रहे।

उपाधि विजेता गण्डकीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता काठमाडौंले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। प्रतियोगितामा उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित भए र दुवैले २०/२० हजार रुपैयाँ प्राप्त गरे।

विजेता खेलाडीहरूलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुरस्कार वितरण गरेका थिए। चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका ४ र अन्य प्रदेशका २/२ गरी १६ टिमको सहभागिता रहेको थियो।